::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

समाजसेवाले जेल पुर्यायो


कुसुम तिवारी

समाजसेवामा सक्रिय रहे वापत यस बर्षको सिएनएन हिरो पुष्पा बस्नेतले हात पारिन् । उनको समाजसेवा, पुरस्कार हात पार्नुभन्दा पनि सेवाका लागि समाजसेवा गरेकी थिईन् । समाजसेवाकै कारणले यति ठूलो अन्तर्राष्ट्रिय सम्मानबाट सम्माननीय भएको कुरा चौतर्फी रुपमा चलिरहँदा यहाँ त्यहि समाजसेवाले नै एक महिलालाई जेल पुर्यायो भन्दा सायदै पत्यार लाग्ला तर यो यथार्थता हाम्रै चितवन जिल्लाको जिल्ला कारागारमा देख्न पाईन्छ । समाजसेवा गरेवापत जेलजीवनको उपाधि पाएकी महिला हुन यी कुसुम कुमारी थनेल । अग्यौली १ नवलपरासीकी थनेलले समाजसेवाले दिएको उपहार १९ महिनादेखि जेलजीवन विताईरहेकी छिन् । 
समाजसेवामा लागेर आदिवासी जनजातिको अधिकारका लागि कदम चलाउने थनेल जिल्ला विकास समिति नवलपरासीकी महिला सीपमूलक समितिको कोषाध्यक्षमा सक्रिय थिईन् । संस्थाको कामले घरबाहिर बढी व्यस्त रहने गर्दथिन् तर गैंडा अभियोगमा कारागार पुगेकी थनेल मलिन अनुहार लगाउँदै भनिन् “मैले आजसम्म गैंडाको खाग देखेकी समेत छैन” सुराकी कै भरमा जेलमा कष्टकर जीवन विताएकी थनेलले आफूले अदालत सामु आफ्नो साँचो वयान पेश गर्न नपाएकोमा गुनासो गर्दै भनिन् “मैले आफ्नो कुरा बोल्न पाएकी छैन, झुट्टो अभियोग लागेकाले डरले बोल्न पनि नसक्ने भएकी थिएँ, डरले हातखुट्टा थरथर काँपिरहेका थिए, अदालतले मेरो बयान नसुनी सुराकीकै भरमा पुर्पक्षका लागि कारागार पठायो, म निरअपराधी भएतापनि समयमै घटनाको छानविन हुन नसक्दा अपराधीले सरह सजायँ भोगिरहेकी छु ।”
जघन्य अपराध गरेका अपराधीहरुले समय पाउने ठाउँ हो जस्तो लाग्यो  रे थनेललाई पहिले कारागार तर त्यहाँ पसेपछि भने आफूले पहिले सोच्ने जस्तो नभएको उनको टिप्पणी छ । “यहाँ त पहुँच नहुने मानिसहरु बस्ने ठाउँ पो रहेछ, यहाँ म जस्तै निरअपराधि महिला दिदीबहिनीहरु धेरै हुनुहुन्छ । अपराधमा संलग्न हुनेहरुलाई उनीहरुको ठूलावडा आफन्तहरुले छुटाएर लगिसके हामी पो सजायँ खेपिरहेका छौं, हाम्रो आफन्तहरु पनि ठूलो मान्छे भएको भए हामी पनि छुट्थ्यौ हाम्रो त को छ र, भाग्यले जहाँ पुर्याउँछ, त्यही जाने हो ।” थनेल भन्छिन् ।
थनेललाई घरमा उनका श्रीमान् दुई छोरा र १ बुहारी आफूलाई पर्खिरहेतापनि अब त्यो गाउँमा कसरी फर्कने भन्ने चिन्ताले सताएको छ यतिवेला उनलाई । भन्छिन्, केसको फैसला हुने तयारी छ, म निरअपराधी भएकाले फैसला मेरो पक्षमा हुे र जेलवासबाट मुक्त हुने आशा त छ तर फर्केर त्यही गाउा कसरी जाउँ, मलाई जेल गएर फर्केकी आईमाई भन्दै गाउँलेले दुव्र्यवहार गर्ने होलान् । बसाई नै सरेर अन्यत्र जाउँ जस्तो लाग्छ तर छोराहरु मान्दैनन् । 
कारागार भित्र पनि कुसुमको ती सिर्जनशील हातहरु कहिल्यै खाली हुँदैनन् । उनले २०५३ सालमा सिकेको सिलाई बुनाई अहिले उनको समय विताउने आधार र आम्दानीको श्रोत भएको छ । जिल्ला विकास समितिको सौजन्य गरेको सिलाई मेसिन कारागार भित्रै भएपछि उनी काममा नै व्यस्त हुने गरेकी हुन् । 
सुरुसुरुमा दिनभरी रोएर समय विताउने भएपनि यहाँ आफूजस्तै दिदीबहिनीको निरअपराधी कथा सुनेपछि सवैलाई हेरी चित्त बुझाएको उनको भनाई छ । कारागारमा कुसुमजस्तै प्रायः महिला केही न केही सीपमूलक काममा व्यस्त हुने गर्दछन् । कत्तिले कारागारमा फुर्सदिलो समयमा सिकेका त कति कुसुमजस्तै पहिल्यै सिकेर आएकाहरु अब जेलबाट मुक्त भएपछि बाहिर गएर आफूले सिकेको सीपको सदुपयोग गर्ने धेरैको सोंच छ । समाजसेवा आफ्नै सानैदेखिको सोच भएतापनि यही समाजसेवाले नै जेल पुर्याएको बुझेकी कुसुम अब जेलमुक्त भएपछि परिवारसँग एक भएर बस्ने सोचमा छिन् । कुसुम भन्छिन्, समाजसेवाले न दिन भन्छ, न रात न भोक भन्छ न प्यास म पनि समाजसेवामा नलागेर घरमै बसेको भए आज जेल बस्नु पर्थेन, सामाजिक काममा बाहिर हिँड्न मलाई त्यत्रो गैंडा खाग तस्करीको अभियोग लाग्यो, अब त घर छाडेर कतै बाहिर निस्किन्न ।
अन्यायमा परेकालाई न्याय दिलाउने पवित्र मन्दिर अदालतले जेलजीवन विताईरहेका निरअपराधीहरुको समयमा नै घटनाको अनुसन्धान गरी फैसला गर्ने हो भने समाजसेवा जस्तो कल्याणकारी कार्यका लागि कुसुमको जस्तो वितृष्णा जाग्दैन्थ्यो कि?