::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

सर्लाहीका बजारमा बालश्रमिकहरुको प्रयोग

सर्लाहीका विभिन्न बजारहरुमा बाल श्रमिकहरुको प्रयोग भैरहेको पाइएको छ । लालबन्दी, नवलपुर, हरिवन, बयलबास, सदरमुकाम मलङ्गवामा समेत बाल श्रमिकको प्रयोग भैरहेको हो । ग्यारेज तथा वर्कसप, साईकल मर्मत केन्द्र, होटल, साना तथा मझौला यातायातका साधनहरु तथा ईट्टा भट्टाहरुमा बाल श्रमिकको खुलेआम प्रयोग भैरहेको भएपनि सरोकारवालाहरु मौन बसिरहेका छन् । गरिबीको कारण देखाई अभिभावकहरुले नै आफ्ना छोराछोरीलाई होटलमा काम गर्न पठाउने गरेको पाइएको छ ।
 
सदरमुकाम मलङ्गवको २५ स्थानमा ३० जना ८ वर्षदेखि १६ वर्ष उमेर समूहका बाल मजदुर रहेको पाइएको जिल्ला बाल कल्याण समिति सर्लाहीका बाल अधिकार अधिकृत अम्बिका पौडेलले बताउनुभयो । नेपाल सरकारले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा संवद्र्धनका लागि बालअधिकारसम्बन्धी महासन्धी १९८९, श्रमका लागि न्युनतम उमेर निर्धारणसम्बन्धी आइएलओ महासन्धी १३८ र निकृष्ट प्रकारको बाल श्रम उन्मुलन सम्बन्धी १८२ लाई समेत अनुमोदन गरेको भएपनि सर्लाहीमा त्यसको कार्यान्वयन नभएको पाइएको छ । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई जोखिमपूर्ण कार्यमा संलग्न गराउन नहुने नीति रहेता पनि गरिबी, अशिक्षा र चेतनाको कमिको कारणले त्यसो हुन नसकेको अधिकृत पौडेलको भनाइ छ । बाल मजदुरहरुको तथ्याङ्क सङ्कलन गरी बाल श्रम अन्त्य गर्न कार्ययोजना तयार पारिने जिल्ला बाल कल्याण समितिले जनाएको छ ।