::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

दोबाटोमा जिन्दगी: आमाले हार्नुभयो,

Binaya Guragain

न खानको टुङ्गो छ, न थाकेको बेला आराम गर्ने फुर्सद नै । बिहान जुरुक्क उठ्छु, चिया होस् या केही नास्ता जे पाकेको छ अलिकति खान्छु, अनि हिड्छु । मायाको भोक आँखामा सजाएर मलाई नै सर्बस्व ठान्ने श्रीमती र छोरालाई अँगालोभरी माया दिन नसकी नसकी ढोकाबाट बाहिर खुट्टा राख्छु । यस्तो लाग्छ म हिडिरहेको छैन दौडिरहेकोछु । बेलुका अबेर घर फर्कन्छु, जे पाकेको छ खान्छु । दिनभरीको थकाईले होला खासै धेरै बोलचाल नगरीकन ओछ्यानमा पल्टिन्छु । बाउ आउला, एकछिन खेल्ला, होमवर्क सिकाईदेला, ट्याब्लेटमा एकछिन टेम्पल रन खेलौला र लुटपुटीदै काखमा सुतौला भन्ने छोराको रहर रहरमै सिमित भएको छ । बुढो आउँछ, चिसोतातो जे भएनी सँगै खाउँला, दुःख सुख बाँडौला भन्ने श्रीमतीको चाहनाको पहाड दिनदिनै अग्लीदै गइरहेको छ । आफ्नो भने व्यस्तताको नाममा यति धेरै भागदौड हुनथाल्यो की न परिवारलाई दिने समय छ, न आफन्तसँग बोल्ने फुर्सद छ, न त छ साथीभाईसँग बसेर एकचुस्की चिया पिउने । जिन्दगीको भागदौड यति अव्यवस्थीत र सम्हाल्नै नसक्नेगरी अगाडि बढीसक्यो की अब पछाडि फर्केर हेर्नलाई नै बिशेष फुर्सद निकाल्नुपर्ने अबस्था सिर्जना भएकोछ ।
ज्यान र मन दुवै थाकेर लखतरान पर्दा पनि आँखाले चिम्लन बिर्सेको छ । सबै सुतेपछि मध्यरातमा जुरुक्क उठ्छु, छोरा र श्रीमतीको अनुहार हेर्छु अनि सोच्छु यो भागदौड के का लागि? के लिएर आएको थिएँ र के लिएर जान खोज्दैछु म? कहाँ हिडेको म? कसलाई भेट्नु छ? के को खोजीमा दौडिइरहेको छु? परिवार, आफन्त र साथीभाईको खुशी खोसेर एक्लै दौडिरहेको यो जिन्दगीले मबाट खोजेको के हो? अनगिन्ती प्रश्नहरुमा रुमल्लिएका मेरा उत्तर बिहीन दैनिकीहरु निरस झनै निरस हुदै गइरहेकाछन् । यस्तो लाग्छ म मेशिन भैसके, अब फेरी मान्छे हुन पो सक्दिन की?
आमाले अहिले पनि भन्ने गर्नुहुन्छ, 'तँलाई मैले जन्माएर झन्डै दुई दिनसम्म दुध चुसाइन ।' किन अरे भने म अगाडिका सन्तानको बाल्यकालमै मृत्युले मेरी आमाको मुटु छियाछिया भैसकेको रहेछ । सन्तान नबाँच्ने क्रम बढ्दै गएपछि आमाको मुटु ढुंगाको जस्तो भएको थियो जहाँ माया भन्दा बढी घृणा थियो रे । र आमाले भने अनुसार म त्यही घृणाको शिकार हुदाँ पनि दुईदिनसम्म बाँचे र आमालाई हराँए । आमाले हार्नुभयो, मैले जिते र म बाँचे । त्यो बेला म नबाँचेको थिएँ भने ३५ बर्ष अगाडि नै म यो धर्तिमा बिलिन भैसक्थे । ३५ बर्ष पुरा हुनैलाग्दाका हिउँद र बसन्तहरुको मैले अनुभव गर्न पाउँदिनथे । जिन्दगी रातो हुन्छ वा कालो, चिसो हुन्छ वा तातो मलाई थाहा हुने थिएन यदी आमाले जन्मेको दुईदिनसम्म मलाई दुध नचुसाउनुभएको भए ।
मान्छेलाई मृत्युसँग डरलाग्छ । तर पनि बेलाबेलामा मर्न पाए लन्ठैसित्ति भन्ने पनि सोच्छ मान्छेले । ममा पनि त्यस्तो भावना आउँछ बेलाबेलामा । तर डरले जित्छ र म बाँचिरहेको छु । बाँच्नेक्रमममा म कैयौपटक मृत्युको नजिक पुगेको छु । बालखमा गोगनको रुखबाट लड्दा होस् वा घुमिरहेको लिङ्गे पिङबाट खस्दा, ज्यान अधकल्चो बनाएर पनि प्राण पखेरु जोगिएको छ । ज्यानका पाटपुर्जाहरु टुक्राटुक्रा हुदाँ पनि सास रोकिएन । बालुवाको लोड बोकेको ट्रकले फुच्चो साइकलमा हान्दा म चारदिनसम्म बेहोस् भए रपनि मलाई डाक्टरले बचाएँ । मेनेन्जाइटिसले अन्तिम अबस्थामा पुर्याउँदा पनि दुई दिनपछि म फेरी होसमा आँए । यस्ता कैयौ डरलाग्दा र अरुलाई (खासगरी भोग्नेलाई) अत्यन्तै कठिन क्षणको अनुभव गराएर पनि म बाँचेको छु । र सायद अझै धेरै बाँच्नेछु पनि ।
बिभिन्न उतारचढावको यात्रामा आजको दिनसम्म आईपुग्दा धेरै अगाडि पुगिसकेको आभास हुन्छ । व्यवसायिक जिन्दगी फराकिलो हुदै गएपनि व्यक्तिगत जिन्दगी साँघुरिदो महशुस भैरहेको छ । सार्वजनिक चिनारीको बिस्तारसँगै खुम्चिएको व्यक्तिगत जिन्दगी र हरेक पाइलापाइलामा खुम्चिएको व्यक्तिगत स्वतन्त्रताले जिन्दगीको अप्ठ्यारो मोडमा ल्याइदिएको छ ।
यही मोडमा आईपुगेर अहिले फेरी पछाडि फर्केर आफैले हिडेको, दौडेको पथ हेरिरहेछु । त्यो पथ कहाँबाट शुरु भएको थियो ठम्याउन मुस्किल छ कहाँ समाप्त हुन्छ पहिल्याउन कठिन छ यद्यपी जिन्दगीको भागदौडले अहिले यस्तो मोडमा पुर्याईदिएको छ की अगाडि बढौ झनै एक्लो हुने डर छ, पछाडि फर्कौ जिन्दगी जित्नेहरुकै लागि हो, हार्नेहरु त क्षितीजमा हराउँछन् भन्छन् । यस्तो लाग्छ जिन्दगी अहिले बिच बाटोमा टक्क अडिएको छ । जहाँबाट अगाडि जान पनि डर, पछाडि फर्कन पनि डर । डरैडरको भरमा टिकेको जिन्दगी कसैको बन्न सकेन भर ।