कसैले उसलाई वास्ता नगरेपछि मैले सडकमा रोइरहेको बच्चालाई उचालें र काखमा राखें । यसलाई म लैजान्छु, प्रहरीलाई जानकारी दिन्छु भन्दै ट्रकमा राखें । एकछिन काखमा राखेपछि बच्चा निदायो । त्यहाँबाट भण्डै २५ किलोमिटर अगाडिको जोगिमारा चौकी पुगेर गाडी रोकें । बच्चाको बारेमा जानकारी दिएँ । यसलाई आफैं पाल्छु, मेरो छोरोजस्तै हो भनेर प्रहरीलाई अनुरोध गरें । प्रहरीले आज एकदिन हेरौं, उसका कोही आफन्त भेटिएन भने विचार गरौंला भने । मैले आफ्नो नाम, नम्बर र बिलबुक छोडेर हिँडें । बिहान थाहा पाएँ, उसका बाबुआमा फेला परेछन् । बच्चाको भिनाजु पर्नेलाई त मैले पनि भेटें । मलाई भेटेर उहाँ खुशी हुनुभयो । मलाई धन्यवाद दिनुभयो । काठमाडौं आउँदा भेट्नुपर्छ भन्नुभएको छ ।
बाबुआमा नभेटेको भए म त्यो बच्चालाई पाल्थें । तर बाबुआमा नै भेटिएपछि झन् बढी खुशी लागेको छ । गुडिरहेको बसबाट खस्दा समेत बच्चालाई केही भएन । बच्चा त देउता हो नि । देउता जस्तो भएकाले उसलाई केही भएन ।
बोल्ने शब्द नै छैन
सँगै सिटमा रहेको छोरो बसबाट खसेको कुरा ६ घण्टापछि मात्र पत्तो पाएका विकास मित्तलका दम्पत्ती अहिले रुञ्चेहाँसोमा छन् । ७ महिने छोरो हराएको क्षण सम्झँदा पीडाले खप्न हुन्न । छोरो सकुशल भेटिएकोमा खुशीले आकाश छोउँ कि जस्तो भैरहेको छ । ‘छोरोलाई सकुशल भेट्टयाएको क्षणलाई म वर्णन नै गर्न सक्दिन’ बुटवलस्थित घर पुगेका विकासले बुधबार दिउँसो त भन्नुभयो-’सडकमा बेवारिसे अवस्थामा भेटिएको छोरोलाई उद्दार गर्ने ट्रक चालक र प्रहरी धन्यवादका पात्र हुन् ।’ अहिले छोरो घरमै सकुशल रहेको र आफन्त तथा परिवारजनले बधाई र शुभकामना दिइरहेको उहाँले जानकारी दिनुभयो । गुडिरहेको बसबाट सडकमा खस्दा समेत बच्चालाई केही नभएको सुन्दा सबै अचम्ममा परेका छन् । ‘यो सबै भगवानको कृपा हो’ विकासले भन्नुभयो ।