::::::::::::::::::::::::::::: LISTEN RADIO RIJAN ONLINE HERE :::::::::::::::::::::::::::::

गर्भवतीलाई अडियो र भिडियोमार्फत शिक्षा


बाबियाचौर (म्याग्दी), २३ चैत । 
म्याग्दीका गर्भवतीलाई अडियो र भिडियोमार्फत मातृशिशु शिक्षा दिन थालिएको छ । मातृशिशु मृत्युदर कम गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र इन्टरनेटमार्फत सन्देशमूलक अडियो÷भिडियो सम्बन्धित व्यक्तिको मोबाइलमा राखेर स्वास्थ्य परामर्श दिन थालिएको हो । गर्भ अवस्थामा आमा र पेटभित्र रहेको शिशुको विकास, सुरक्षा, पोषणलगायतका विषयमा सहज रुपमा आवश्यक जानकारी उपलब्ध गराउन ई–मातृशिशु शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । आमाको माया डटकमको सहयोगमा म्याग्दीको शिख, घार, हिस्तान र राम्चे गाविसमा गत मङ्सिरमा सुरु गरिएको कार्यक्रम प्रभावकारी बनेपछि जिल्लाभर विस्तार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक झलक शर्मा गौतमले जानकारी दिनुभयो । पेटभित्र बच्चा कसरी बढ्छ, कति महिनाको गर्भवतीले के खानुपर्छ, के काम गर्नुपर्छ, के गर्नुहुँदैन, गर्भावस्थामा परिवारको भूमिका के हुने, गर्भ परीक्षण गर्ने समयलगायतको चेतनामूलक सन्देश गर्भवतीको मोबाइलमा राख्ने गरिएको जिल्ला अस्पताल बेनीकी अनमी सुमित्रा थजालीले बताउनुभयो ।
यसैगरी आमाको माया डटकम नामको वेभसाइटमा गर्भवतीको मोबाइल नम्बर दर्ता गरेमा इन्टरनेटमार्फत गर्भ रहेको समय अवधिअनुसार आवश्यक पर्ने अडियो र भिडियो पठाउने व्यवस्था पनि रहेको छ । भौगोलिक विकटता र लाजका कारण नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गराउन नसक्ने समस्या देखिएपछि प्रविधिको प्रयोग गरेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाइएको हो । स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन आउने गर्भवतीलाई दिने परामर्शका साथै सन्देश सामग्रीले मातृ शिशु स्याहारप्रति थप सचेत र संवेदनशील बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । आमाको माया डट कमका सञ्चालक राजेन्द्र पौडेलका अनुसार सुरक्षित मातृ शिशु स्याहारसम्बन्धी पाँचवटा भिडियो र १७ वटा अडियो सन्देश तयार पारिएको छ । मोबाइलमा राखिएको सन्देश धेरैपटकसमेत हेर्न र पढ्न सक्नेछन् । म्याग्दीका एक हजारभन्दा बढी गर्भवतीका मोबाइलमा सन्देशहरु पठाइसकिएको छ । म्याग्दीका साथै कास्कीको लुम्ले र रसुवा जिल्लाको डाँडागाउँ गाविसमा पनि यस्तो कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल वायरलेस कम्पनीमा कार्यरत पौडेलले सन् २००९ मा इन्टरनेट सोसाइटीअन्तर्गतको एनजिएल कार्यक्रममार्फत चार हजार पाउन्डको लौरेट अवार्ड प्राप्त गर्नुभएको थियो । गर्भ अवस्थामा स्याहार सुसारमा ध्यान नदिँदा आफ्नो नवजात शिशुको मृत्यु भएका कारण अरुले यस्तो दुखद् घटना बेहोर्नु नपरोस् भनेर पुरस्कारवापत प्राप्त गरेको रकमले वेभसाइट सञ्चालन गरेर गर्भवतीहरुलाई सन्देश दिने काम गरेको पौडेलले बताउनुभयो । 
रासस